काठमाडौं । निर्देशक प्रदीप भट्टराई निर्देशित चौथो फिल्म ‘महापुरूष’ ले प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको फिल्म ‘महापुरूष’ ले शनिबार काठमाडौंसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो ।
मल्टिप्लेक्स चेन क्युएफएक्स, कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिज, जमलमा रहेको विश्वज्योति सिनेप्लेक्स, गोंगबुमा रहेको बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्स, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफ, चाबहिलको केएलटावरमा रहेको एफक्युब, बानेश्वरमा र कालिमाटीमा रहेको वान सिनेमाज र आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा प्रदर्शनको ५१औँ दिन पूरा भएको छ । फिल्मले घरेलु बक्स अफिसबाट नै दश करोड बढीको कलेक्सन गर्नसमेत सफल भएको छ ।
५१औँ दिन पुगेको अवसरमा फिल्म युनिटले केक काट्दै सेलिब्रेसन गरेको छ । केही समय यता अमेरिका भ्रमणमा रहेका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिमा टिमले केक काट्दै पहिलो ‘कार्बन तटस्थ’ फिल्म बनेको बारेमा जानकारी दिएको छ । आयोजित पत्रकार सम्मेलनमा निर्माताले कार्बन उत्सर्जन कटौती गर्नेतर्फ फिल्मले महत्वपूर्ण वातावरणीय अध्याय थालेको बताइएको थियो ।