काठमाडौं । सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बस्दैछ । बैठक दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठक आमनिर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न बैठक बोलाइएको भनिएको छ ।
यसैबीच कांग्रेसमा संसदीय दलकाे नेता को बन्ने भन्ने रस्साकस्सी चलेको छ । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले भावी प्रधानमन्त्री दाबी गर्दै संसदीय दलको नेता बन्ने निश्चित गरिसकेका छन् । यसै योजना अनुसार उनले शनिबार पार्टीका सांसदहरुलाई बालुवाटारमा जलपान समेत गराइसकेका छन् । उनी सरकार निर्माणका लागि बहुमत जुटाउन लागि परेका छन् ।
संसदीय दलको नेता आकांक्षीमा संस्थापनमा देउवा एक्लो हुँदा उता इतर समूहमा भने धेरै नेताको दाबी छ ।
आफ्नै गुटका महामन्त्री गगन थापाले संसदीय दलको नेतामा प्रतिस्पर्धा गरिछाड्ने सार्वजनिक उद्घोष गरे पनि डा. शेखर कोइरालाले भने आफैँ संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।
संसदीय दलको अंकगणित हेर्दा दलको नेतामा देउवाको जित निश्चित जस्तै छ । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अर्जुनरसिंह केसी लगायतका नेताहरू इतर समूहबाट एउटा मात्र उम्मेदवार उठाउने प्रयासमा लागे पनि सहमतिको संकेत देखिएको छैन । इतर समूहका नेताहरूसँग छलफल नै नगरी संसदीय दलको नेताको उम्मेदवारका रूपमा अघि सारेकोमा असन्तुष्ट नेताहरू गगनको पुस्तान्तरणको नारामा समेत रुष्ट देखिएका छन् । उपभापति धनराज गुरुङले समेत कोइराला नै आफ्नो गुटबाट संसदीय दलको नेताको उम्मेदवार भन्न थालेका छन् ।
यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल पनि प्रधानमन्त्रीका आकांक्षी हुन् । उनले पनि भावी प्रधानमन्त्रीमा आफ्नो दावी छोडेका छैनन् ।
कांग्रेसले पुस ३ गतेपछि मात्रै संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गर्ने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई पुस ३ गते प्रमाणपत्र दिने भएको छ । समानुपातिक सांसदले निर्वाचित भएको प्रमाणपत्र बुझेपछि मात्रै संसदीय दलको नेता चयनका बारेमा छलफल अघि बढ्ने कांग्रेसले जनाएको छ ।