बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आजै छुट्दैछन् रेशम चौधरी ! कारागार अगाडि कार्यकर्ताको भिड

सोमबार, मंसिर २६ २०७९

काठमाडौं । हत्या अभियोगमा आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरी छुट्ने भन्दै नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता डिल्लीबजार कारागार अगाडि भेला हुन थालेका छन् ।

सरकारले थरुहट आन्दोलन, नेकपा विप्लवलगायत राजनीतिक पार्टीका नेता कार्यकर्तालाई छुटाउन अध्यादेश ल्याउने निर्णय गरेलगत्तै सोमबार बिहान डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी छुट्ने हल्ला चलेको हो । 

आइतबार सरकारले अध्यादेश ल्याउने निर्णय गरेलगत्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टी सरकारमा सामेल हुने र रेशम चौधरी कारागारबाट छुट्ने प्रतिक्रिया मिडियालाई दिएकी थिइन् ।

अहिले डिल्लीबजार कारागार अगाडि सडकमा रेशम चौधरीका कार्यकर्ता पार्टीका झन्डा र फूलमालासहित उपस्थित भएका छन् । डिल्लीबजार कारागार प्रशासनले भने यसबारे आफूलाई कुनै जानकारी नभएको जनाएको छ ।

अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि बल्ल कार्यान्वयनमा जानेछ। त्यसपछि मुद्दा फिर्ता लिनका लागि सम्बन्धित अदालतबाट सहमति लिएर सरकारले फेरि निर्णय गर्नुपर्ने हुन्छ।

चुनाव सकिएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कारागारमै गएर चौधरीलाई भेटेका थिए । उनीहरूले नयाँ बन्ने सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई सहभागी हुन आग्रह गरेका थिए । जवाफमा चौधरीले थरुहट आन्दोलनमा सहभागीमाथि लगाइएको मुद्दा खारेज र आममाफी दिनुपर्ने प्रस्ताव गरेका थिए । 

टीकापुर हत्याकाण्डमा एक बालकसहित आठ सुरक्षाकर्मीले ज्यान गुमाएका थिए । सो घटना रेशम चौधरीकै निर्देशनमा भएको भन्दै अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको थियो ।