काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान गठबन्धन सरकार रहुन्जेल देशमा राजनीतिक अपराधिकरण र अपराधको राजनीतिकरण हुने बताएका छन् ।
गठबन्धन सरकारले सत्ताको लागि व्यवस्थामाथि प्रहार गरेको आरोप लगाउँदै उनले सामाजिक सञ्जालमा लेखेर विरोध जनाएका हुन् ।
टीकापुर घटनामा दोषी ठहर भई जेल परेका रेशम चौधरीलाई छाड्न सरकारले अध्यादेश ल्याउन लागेकाे निर्णयप्रति एमाले सचिव भट्टराईले विरोध जनाउँदै लेखेका छन् –
‘रेशमको नाम
अफ्ताबको काम
राजनीतिमा अपराधीकरण
अपराधको राजनीतिकरण
देश भांडमा जाओस कि
ब्यबस्था बदनाम होस के मत्लब
गठबन्धन रहुन्जेल
यो त कास्टीङ मात्र हो
पुरा सिरिज त आउन बाँकी नै छ !’
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीके राउत, नेत्रविक्रम चन्द र रेशम चौधरीलगायतका व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्नका लागि अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको थियो ।