काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएको एक साता हुन लाग्दा पनि दलहरूले सरकार गठनलाई सामान्य आकार दिन सकेका छैनन् । कस्तो र कसरी सरकार गठन गर्ने भन्नेमै नेताहरू अलमलमा छन् ।
अझ पाँच दलीय गठबन्धन गरेर सोरपटार पार्ने भन्दै चुनावमा होमिएको सत्ता गठबन्धनले सामान्य बहुमत जुटाउन नसक्दा सर्मनाक अवस्था भोग्नु परेको छ । उसले सामान्य बहुमत जुटाएर सरकार बनाउनकै लागि एक स्वतन्त्रसहित ४ सांसद भएको नागरिक उन्मुक्ति पार्टीको समर्थन जुटाउन मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउन लागेको छ । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु नयाँ सरकार गठन गर्न प्रतिनिधिसभाको बहुमत १३८ सांसदको समर्थन जुटाउन प्रयासरत छ ।
जेलमा रहेका नेता रेशमलाल चौंधरीलगायतका नेतालाई रिहाई गरे सरकारमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टीले निर्णय गरेसँगै वर्तमान सरकार अध्यादेशमार्फत त्यो गर्न तयार देखिएको छ ।
पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ सिटमा विजय हासिल गरेको छ भने रेशमका बुवाले स्वतन्त्रमा जितेका छन् ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन सकेनन् । जसकारण गठबन्धन सरकार बन्ने निश्चित छ । प्रचलित संविधानको धारा ७६ (२) अनुसार सरकार गठन हुने भएको छ । तर, हालसम्म कुनै पनि दलले सरकार गठनका लागि आवश्यक पर्ने साधारण बहुमत १३८ सांसदको समर्थन जुटाउन सकेका छैनन् ।
सत्तारुढ गठबन्धनभित्र सरकार गठनका विषयमा एक मत छैन । गठबन्धनको नेतृत्व गरेको कांग्रेसभित्रै नयाँ सरकारको नेतृत्व लिन विषयमा पनि एकमत छैन । माओवादी नयाँ सरकार गठनमा पर्ख र हेरको अवस्थामा छ । सरकारको नेतृत्व गर्न जुन दलले दिन्छ, उसैलाई समर्थन गरेर आलोपालो सरकार गठनमा जाने माओवादी केन्द्रको तयारी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने ताकमा छन् । त्यसका लागि उनले आफ्नो इच्छा जाहेर गरिसकेका छन् ।
८९ सिट जितेको कांग्रेसले सुरुमा सरकारको नेतृत्व गर्न चाहेको छ । उसले सरकार गठनका लागि गठबन्धन आवद्ध दलकै समर्थन जुटाउन सकिरहेको छैन । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहित कांग्रेसमा प्रधानमन्त्रीमा अरु पनि आकांक्षी देखिएका छन् ।
तर, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले यसको गृहकार्य थालेपनि उनलाई साधारण बहुमत १३८ सांसदको समर्थन जुटाउन निक्कै कठिन बन्दै गएको छ ।
एकीकृत समाजवादी पनि कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धन आवद्ध दलको निर्णय पर्खेको छ भने केही आफ्ना राजनीतिक स्वार्थ पूरा गर्नेलाई समर्थन गर्न तयारीमा छ ।
संसदीय दल गठन र नेता चयनपछि सरकार गठनका लागि गति दिने तयारीमा कांग्रेस देखिन्छ । बहुमत नभएकाले अरु दलको सहारामा सरकार गठन गर्नुपर्ने भएकाले पनि नेताहरूले त्यति सक्रियता नदेखाएका हुन् ।
कांग्रेसमा संसदीय दलको नेता जो बन्छ उसैले प्रधानमन्त्रीमा दाबी गर्ने हो । अहिलेको अवस्थामा देउवा पुरानै संसदीय दलको नेता हुनु हो । दलको नेताका लागि महामन्त्री गगन थापाले पनि तयारी गरेकाले को बन्छ भन्ने ग्यारेन्टी छैन ।
माओवादी केन्द्र आफ्नो माग र स्वार्थ पूरा गर्नेलाई समर्थन गर्नेगरी दलीय छलफलमा छ । उसले आफू अनुकूलको सरकार गठनका लागि विकल्प अघि सारेको छ । त्यसैले अहिलेकै गठबन्धनको सरकार बन्छ भनेर भन्न सकिने अवस्थासमेत छैन । २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठनबारे केही नबोलेकाले पनि नेताहरू सरकार गठनमा उदासीन बनेका हुन् ।