काठमाडौं । संघीय संसदको दुवै सदनले बहुमतले पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने आज अन्तिम दिन हो ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको आज १५ दिन पुगेको छ । गत २० भदौमा नागरिकता विधेयक शीतल निवास पठाइएको थियो ।
यसअघि राष्ट्रपति भण्डारीले यसका केही विषयमा सच्याउनुपर्ने सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । तर, प्रतिनिधिसभा र राष्ट्रिय सभाले भने एक अक्षर पनि संशोधन नगरी विधेयक हुबहु जस्ताको तस्तै फेरि पठाएपछि राष्ट्रपति असन्तुष्ट छिन् । उनले विधेयक ‘होल्ड’ मा राख्ने मनस्थिति बनाएको स्रोतले बतायो । तर, शीतल निवासले भने विधेयक फिर्ता हुन्छ वा प्रमाणीकरण हुन्छ भन्नेबारे केही बोलेको छैन ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक १४ दिन बितिसक्दा पनि प्रमाणीकरण नगरेपछि सोमबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका थिए । उनी माओवादी अध्यक्ष प्रचण्डसँगको छलफल पछि शितल निवास गएका थिए । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच डेढ घन्टा लामो छलफल भएको थियो । तर, यस विषयमा के कुरा भयो सो हालसम्म बाहिर आएको छैन ।
कांग्रेसको उच्च स्रोतका अनुसार राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने विषयमा प्रधानमन्त्री त्यति विश्वस्त नदेखिएको बताएको छ ।
सत्तारुढ गठबन्धनको शीर्ष नेताको मंगलबार बस्ने बैठकमा नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरे के गर्ने भन्ने विषयमा छलफल हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अदालत जाने चेतावनी दिइसकेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरे अब आउने नयाँ राष्ट्रपतिले पनि पहिलेकै थिति बसाल्ने र त्यसले कार्यपालिका र शीतल निवासबीच द्वन्द्व सुरु हुने बताएका छन् ।
सत्तारुढ नेपाली कांग्रेसका नेताहरू भने नागरिकता विधेयकबारे खुलेर बोलेका छैनन् । तर, यसको भातृ संगठकन नेविसंघले भने नागरिकता विधेयकको पक्षमा सडक आन्दोलन समेत गरेको थियो । प्रमुख प्रतिपक्ष एमालेले भने नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न नहुने धारणा राख्दै आएको छ ।