काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने हल्ला फैलाएको आरोप लगाएका छन् ।
विभिन्न मिडियामा कांग्रेसका नेतालाई उद्वृत गर्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई लिएर राजीनामा दिने मनस्थिति बनाएको भन्ने समाचार आएपछि बाँस्कोटाले सामाजिक सञ्जाल मार्फत उक्त प्रतिक्रिया दिएका हुन् ।
‘राष्ट्रपतिको राजीनामाको होहल्ला परमादेशीले चाहेको कि दिए कति सजिलो हुन्थ्यो भन्ठानेको ?,’ बास्कोटाले आज सामाजिक सञ्जालमा लेखेका छन्, ‘नागरिकता हाम्रा नागरिकको नैसर्गिक हक हो, फुटपाथमा बेच्न राखेको ललीपप होईन ।’
उनले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रियसभामा सहमति गर्न सकिने समेत बताएका छन् ।
‘सत्तापक्ष राष्ट्रियसभाबाट सही सहमतीमा पुग्न तयार भए भैगो नि ! संसारका राष्ट्रपति देशहीतका लागि लडेको इतिहास छ, भागेको छैन,’ उनले लेखेका छन् ।
केही दिन यता राष्ट्रपति राजीनामा दिने मनसायमा रहेको भन्दै सत्तारुढ दल कांग्रेसका शीर्ष नेतालाई उद्दृत गर्दै केही मिडियाले समाचार सम्प्रेषण गरिरहेका छन् ।