काठमाडौं । आगामी मंसिर ४ गते तय गरिएको आम निर्वाचनमा पाँचदलीय सत्ता गठबन्धन चुनावी तालमेल गरेर अघि बढ्ने मनसायमा छन् । दलहरुबीच चुनावी तालमेल गर्ने लिखित सहमति गर्दै गठबन्धनले साउन २० गते सिट बाँडफाँटको लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठबन गरेको थियो ।
पाँच दलीय गठबन्धन आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटमै रुमल्लिएको छ । चुनावी तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दल सिट बाँडफाँडबारे दुई सातादेखि छलफलमा भएपनि अहिलेसम्म टुंगो लागेको लाग्न सकेको छैन । सीट बाँडफाँटको मापदण्डसहित प्रतिवेदन बुझाउन साउन मसान्तसम्मको समयसिमा दिएपनि कार्यदल कार्यभार पूरा गर्न सकेन । कार्यदलबाट सीट बाँडफाँटको टुंगो लाग्ने अवस्था नरहेपछि कार्यदलले पुनः शीर्ष नेतृत्वलाई नै जिम्मेवारी सुम्पिएको थियो । कार्यदलले जिम्मेवारी सुम्पिएपछि २ पटक बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकपनि निष्कर्षबिहिन भएका छन् ।
सिट बाँडफाँटबारे सहमति जुटाउन सोमबार बसेको शीर्ष नेताहरुको बैठक निष्कर्षबिहिन भएपछि मंगलबार शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरुको संयुक्त बैठक बस्यो । तर,प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा सिट बाँडफाँटका आधारहरुमाथी छलफल भएपनि कुनै निष्कर्षमा नपुगेको जानकारी दिँदै कार्यदलका सदस्य एवं राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले भने,‘अहिले के–के आधारमा सिटको बाँडफाँड गर्ने भन्ने नै टुंगिएको छैन । किनभने अहिले एउटामात्रै आधारले सिटको भागबण्डा हुन सक्ने अवस्था छैन । २०७४ को समानुपातिकको परिणाम,प्रत्यक्षतर्फको परिणाम र २०७९ को स्थानीय तह निर्वाचनको परिणामहरूलाई आधार मानेर सिटको बाँडफाँड गर्ने हाम्रो प्रयास छ । तर यी सबै फरक फरक आधार हुन् । कहाँ कसको राम्रो अवस्था छ ? कसलाई दिँदा चुनाव जित्ने सम्भावना हुन्छ ? सबै कुरा हेर्नुपर्ने हुन्छ ।’
नेताहरूबीच ०७४ र ०७९ को निर्वाचनका परिणामका आधारमा चुनावी तालमेल गर्ने समझदारी भएपनि सिटको संख्याबारे भने सहमति हुन नसकेको जानकारी दिँदै सचिव पुरीले भने,‘बिहीबारसम्म सिट बाँडफाँडको विषयलाई टुंग्याउने मानसिकतासहित छलफल भइरहेको छ । आज संयोजक सिटौला जी अस्वस्थ भएर उपस्थित हुनुभएन । हामी ९ गतेभित्र निष्कर्षमा पुग्छौँ ।’ कार्यदलको बैठक बुधबार साँझ ५ बजे पुनः बस्ने कार्यदलका सदस्य पुरीले जानकारी दिए ।
सोमबार र मंगलबार बसेको बैठकमा गठबन्धनका दलहरुले आ–आफ्नो दलले पाउनुपर्ने सीटबारे धारणा राखेका थिए । कांग्रेस बाहेकका गठबन्धनका दलहरुले कांग्रेस र अन्य चार दललाई बराबरी सीट निर्धारण गर्नुपर्ने धारणा राखेका छन् । तर, गठबन्धनको मुख्य दल उक्त मोडालिटीमा सहमत हुन सकेको छैन ।
आसन्न निर्वाचनमा तालेमल गरेर जाने सहमति गरेको तीन साता बित्न लाग्दा समेत अहिलेसम्म सिट बाँडफाँटका आधार नै तयार पार्न सकेका छैनन् । कुन आधारमा टेकेर सिट बाँडफाँट गर्ने भन्नेमा नै दलहरुबीच विमति छ । गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस संठनात्मक अवस्था,मतदाताको मनोविज्ञान,२०७४ साल र गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनको ‘पपुलर मत’ का आधारमा सिट बाँडफाँट गर्नुपर्ने पक्षमा छ । तर,गठबन्धनकै अर्को घटक माओवादी केन्द्र २०७४ सालमा प्रत्यक्षतर्फ जितेका सिटलाई आधार बनाउनु पर्ने पक्षमा छ ।
२०७४ मा माओवादी केन्द्रले एमालेसँग गठबन्धन गरेर प्रत्यक्षतर्फ ३६ सिट जितेको थियो भने कांग्रेसले एक्लै लडेर २३ सिट जितेको थियो । माओवादीको आधारलाई मान्ने हो भने कांग्रेसले प्रतिनिधिसभाका प्रत्यक्षतर्फका १६५ सिट मध्ये ८० सिट हाराहारीमा पाउनसक्छ । तर,कांग्रेसभित्र १०० सिटभन्दा तल सम्झौता गर्न नहुने चर्को दवाव छ ।
माओवादीले गरेको प्रस्तावको आधारमा सिट बाँडफाँटको गाँठो फुक्न नसक्ने कांग्रेसका नेताहरुको भनाई छ । २०७४ को चुनावलाई पनि आधार मान्ने भए त्यसबेला दलहरूले ल्याएका समानुपातिक मत मुख्य आधार हुनुपर्ने कांग्रेसको अडान छ ।
गठबन्धनका मुख्य दलहरु नै आ–आफ्नो अडानबाट पछि नहट्दा सिट बाँडफाँटको आधार नै तय हुन सकेको छैन ।