बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेसँग गठबन्धन गर्न चाहनेहरुका लागि ढोका खुला छः पृथ्वीसुब्बा गुरुङ

बुधबार, भाद्र ८ २०७९

काठमाडौँ : नेकपा (एमाले)ले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका लागि ढोका खुला राखेको बताएको छ।

मंगलबार स्थायी कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गठबन्धन गर्नु हुँदैन भनेर पार्टीले ढोका बन्द नगरेको स्पष्ट पारे।

उनले एमालेसँग गठबन्धन गर्न चाहनेहरुका लागि ढोका खुला रहेको बताए। उनले देशमा सुशासन, समृद्धि र स्वाधिनताको पक्षमा एजेण्डा मिल्नेहरुसँग गठबन्धन गर्न तयार रहेको बताए। कसैलाई गठबन्धनमा आउन भनेर दबाब भने नदिने उनले बताए।

उनले भने, ‘गठबन्धन गर्नै हुँदैन भनेर ढोका बन्द गरेर बसेको पार्टी एमाले होइन। एमालेसँग जो–जो गठबन्धन गर्न चाहन्छ, त्यो पार्टीहरुलाई ढोका खुला छ। तर, हामी के भन्दैनौँ भने गठबन्धन भएन भने एमाले चुनावमा जाँदैन, एमाले चुनावमा हार्छ भन्ने मानसिकता चाहदैनौँ। हामी एक्लैले चुनाव जित्न सक्छौँ। चुनाव लड्नुपर्छ। चुनौतिको सामना गर्नुपर्छ। बलजफ्ती हामीसँग मिल्न आऊ भन्ने परिस्थिति हुँदैन।’

स्थायी कमिटी बैठकले केन्द्रिय कमिटीको तेस्रो बैठकपछि भएका निर्णयहरुको अनुमोदन गरेको उनले जानकारी दिए। त्यस्तै, पछिल्लो समय अन्य पार्टीहरुबाट नेकपा (एमाले) प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई मातहतका कमिटीहरुमा व्यवस्थापन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए।

बैठकले कुलभक्त शाक्य, डिबी नेपाली र नवराज पौडेललाई केन्द्रीय सल्लाहकार परिषद्‌मा मनोनयन गर्ने निर्णय गरेको छ। त्यस्तै, जीवन गौतम, वृजेश गुप्ता, धर्म देवकोटा र अमृत राजवंशीलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको पनि उनले जानकारी दिए।

बैठकले ५२ हजार ५५० जनाको पार्टी सदस्यता दोहोरिएकाले सो सदस्यताको व्यवस्थापनका लागि संगठन विभागलाई जिम्मेवारी तोकेको छ।
६ वटा प्रदेशका ईन्चार्जहरुले आफ्नो प्रदेशको शक्ति सन्तुलन र प्रदेशको संगठनात्मक गतिविधिको सम्बन्धमा रिर्पोटिङ गरेका छन्।

त्यस्तै बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आगामी भदौ १० र ११ गते हुन लागेको केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनको सम्बन्धमा ब्रिफिङ गरेका गुरुङले जानकारी दिए।

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा ल्याउने प्रतिवेदनको सम्बन्धमा नेताहरु सुवासचन्द्र नेम्वाङ, घनश्याम भुसाल, कर्ण थापा, प्रभु शाह, शेरधन राई, रघुजी पन्त, मणि थापा, खगराज अधिकारीलगायतका नेताहरुले सुझाव दिएको उनले जानकारी दिए।