काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । यसबारे राउतको जवाफ प्राप्त हुन सकेको छैन ।
स्रोतका अनुसार यादव राउतलाई राजीनामा गराएर हाल अर्थमन्त्री रहेका शैलेन्द्र साहलाई मुख्यमन्त्री बनाउने तयारीमा छन् ।
जसपा कार्यकारिणी समितिको बैठकमा पनि मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केही प्रदेश सांसदले मुख्यमन्त्री राउतको राजीनामा मागेका थिए ।
मुख्यमन्त्री राउतविरुद्ध पार्टीभित्रै आलोचना र गुटबन्दी बढेपछि अध्यक्ष यादवले राजीनामा माग गरेका हुन् । राउत यादवकै दलका नेता हुन् ।
अख्यितार दुरुपयोग अनुसन्धान आयोगले यसअघि मुख्यमन्त्री कार्यालयमा नै छापा समेत मारेको थियो । मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ अभियानमा भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा समेत दायर गरिसकेको छ ।
साइकल खरिद प्रकरणमा समेत राउतको संलग्नता रहेको बताइन्छ । उक्त प्रकरणमा समेत अख्तियारले छानविन गरिरहेको छ ।
अन्य योजनाका फाइलहरुमा पनि अख्तियार अनुसन्धान गरिरहेका कारण मुख्यमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब छ ।
नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका रावतलाई हटाएर हाल अर्थमन्त्री रहेका साहलाई मुख्यमन्त्री बनाउने जसपाको तयारी छ ।
यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री राउतले आफूलाई राजीनामा दिन कुनै निर्देशन नआएको जानकारी दिएका छन्। सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूलाई पार्टी अध्यक्षबाट राजीनामाका लागि निर्देशन नआएको बताएका छन् ।