आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

महन्थको निर्णय पश्चात ठूलो दलको हैसियतमा ओली नै प्रधानमन्त्री बन्ने

मंगलबार, बैशाख २८ २०७८

काठमाडौं । मुलुकको राजनीतिक सरकार बनाउने र गिराउने खेलमा होमिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा नयाँ सरकार बनाउन विपक्षी दलहरु लागिपरेका छन् । 

सोमबार संसदबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त भए । सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति ९ बजेसम्म नयाँ सरकारको दाबी गर्न दलहरुलाई आग्रह गरेकी छन् । 

यता नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव समूह नयाँ सरकार बनाउन गठबन्धन बनाएका छन् । 

तर, जसपाको संसदीय दलको हैसियतमा रहेका पार्टीका प्रथम अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार बनाउन आफूहरु सहभागी नहुने वक्तव्य दिए । यसपछि विपक्षीको गठबन्धनमा खैलाबैला मच्चियो । 

आफू जसपाको प्रथम अध्यक्ष रहेको भन्दै महन्थले जसपा नयाँ सरकार बनाउने खेलमा नरहेको र उपेन्द्र यादवको सरकार बनाउने धारणा व्यक्ति रहेको राष्ट्रपतिलाई जानकारी गराउने भएका छन् । 

महन्थको एक्सनले गठबन्धनमा नयाँ सरकार बनाउने खेल जोखिममा परेको छ । जसपाले सहयोग नगरे कांग्रेस र माओवादीले मात्रै नयाँ सरकार बनाउन सांसद संख्या पुग्दैन । यही बुझेका कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले डाकेको गठबन्धनको बैठक स्थगित गरेर पार्टीभित्र आन्तरिक छलफल गर्ने भएका छन् । 

राजनीतिक समीकरणमा आएको फेरबदलले प्रधानमन्त्रीको दौडहबाट देउवा पछि हट्ने टिप्पणी हुन थालेको छ । देउवा पछि हटे जसपाका डा. बाबुराम भट्टराई अघि बढ्ने र उनी नेतृत्वमा सम्भव नभए फेरि ठूलो दलको हैसियतमा ओली नै प्रधानमन्त्री बन्ने मुलुकको राजनीतिक सिनारियो अघि बढेको नेताहरुको भनाइ छ ।