आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

यसरी पाउदै छन् प्रधानमन्त्री ओलीले विश्वासको मत !

सोमबार, बैशाख २७ २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिएसँगै राजनीतिक सरगर्मी बढेको छ। ओलीले वैशाख २७ गते संघीय संसद्मा विश्वासको मत लिने कार्यतालिका छ।

नेपालको राजनीतिमा आइतबार अपरान्ह नयाँ ट्वीस्ट देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत पाउने सम्भावनालाई आइतबार अपरान्हबाट आशामात्रै जगाएन, लभभग निश्चित जस्तै देखिएको छ । 

१२१ सांसद रहेको नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई संसदबाट विश्वासको मत पाउन थप १५ मतको आवश्यकता पर्छ ।

संसदबाट विश्वासको मत पाउने ढोका आइतबार अपरान्ह जनता समाजवादी पार्टी नेपालले खोलिदिएको छ । सोमबार प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिँदैछन् ।

यसका लागि सोमबार संसदको अधिवेशन डाकिएको छ । तर, यसको अघिल्लो दिन आइतबार दिउँसो आफूहरु तटस्थ रहने प्रधानमन्त्री ओलीलाई जानकारी गराएको अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूहसहित सहभागी जसपाको बैठकले मत विभाजनमा सहभागी हुने निर्णय गरेको छ ।

सोमबार हुने मतविभाजनमा सहभागी हुने सांसदहरुलाई जसपाले ह्वीप जारी गरेको छैन भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत मागिने प्रस्ताव पक्ष वा विपक्षमा सांसदहरुले मत दिनसक्ने निर्णय पनि गरेको छ । 

जसपाका सांसदहरुले स्वविवेक प्रयोग गर्न पाउने निर्णय गरेको हो । उपेन्द्र यादव, बाबुराम भट्टराईसहितको पार्टी पदाधिकारीहरुको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत पाउने नपाउनेमा निर्णायक देखिएको जसपाको उपेन्द्र र भट्टराई समूहले भने विपक्षमा मत दिने भएको छ । तर, १५ मत आवश्यक पर्ने प्रधानमन्त्री ओलीलाई महन्थ–राजेन्द्र महतोसहितका केही सांसदले मत दिँदा बहुमत पुग्नेछ । 

यसलाई सहजता बनाउँदै जसपाले निर्णय गरेको हो । महन्थ र राजेन्द्र समूह सुरु देखि नै ओली सरकारप्रति सकारात्मक बन्दै आएको छ । 

जसपाले खुलेर निर्णय नगरेको भए पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने आन्तरिक तयारी देखिन्छ । जस कारण सांसदहरुलाई स्वविवेक प्रयोग पाउने गरी निर्णय गरेको हो । 

आइतबार बिहान महन्थ–राजेन्द्रले प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेर तटस्थ बस्ने जानकारी गराएका थिए । 

यता एमालेकै माधवकुमार नेपाल समूहका सांसदहरुले आइतबार दिने सामूहिक राजीनामा दिने कार्यक्रम भोलि सोमबार बिहानसम्म स्थगित गरेर सहमतिको सम्भावनालाई जीवितै राखेको छ ।

नेपाल–खनाल समूहको आइतबार साँझसम्म चलेको बैठकले प्रधानमन्त्री ओलीलाई सहमति आउन भोलि बिहानसम्मको समय दिएको सो समूहका नेता योगेश भट्टराईले जानकारी दिए । 

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले कसैलाई काखा पाखा नगर्ने प्रतिबद्धता जनाउँदै प्रेस विज्ञप्ति जारी गरेका छन् भने एमालेले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

यी विकसित राजनीतिक घटनाक्रमले प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत पाउने सम्भावनालाई बलियो बनाएको छ । एमालेकै १२१ सांसद र जपसाका १५ सांसदले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएमा बहुमत पुग्ने छ ।

यसैलाई मध्यनजर गर्दै आइतबार दलहरुले औपचारिक र अनौपचारिक निर्णय र सहमति गरेको राजनीतिक घटनाक्रमले देखाएको छ । 

आइतबार दिउँसोसम्म प्रधानमन्त्री ओलीको कुर्सी धरापमा परेको र सोमबार सम्भवतः राजीनामा दिनुपर्ने अवस्थालाई एकाएक परिवर्तन गर्दै आइतबार अपरान्हबाट राजनीतिक समीकरणमा परिवर्तन आएको हो ।

uml1.jpg

uml2.jpg