काठमाडौं – सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीको आकस्मिक बैठक सकिएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विशेष अधिवेशनमा विश्वासको मत लिने प्रस्तावबारे सबै दलसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।
बालुवाटारमा बसेको बैठकले सबै दलसँग छलफल गर्ने निर्णय गरेको पार्टी प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।
बिहीवार बिहान एमालेको आकस्मिक स्थायी कमिटी बैठक बालुवाटारमा बसेको हो । बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास गएका छन् ।
बालुवाटारमा भएको बैठकमा संसदबाट विश्वासको मत लिन बैशाख २७ गते तय गरिएको प्रतिनिधिसभा बैठक, दलहरुसँग भएका छलफल र समसामयिक विषयमा बैठक केन्द्रित भएको जनाइएको छ ।
यसअघि बुधबार प्रधानमन्त्री ओली सहयोग माग्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।