काठमाडौं । पार्टी स्थायी कमिटी बैठक सकेलगत्तै राष्ट्रपति भेट्न शीतलनिवास पुगेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आज साँझ आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक डाकेका छन् ।
एक मन्त्रीका अनुसार आज नियमित बैठक हो, तर प्रधानमन्त्रीले शीतलनिवासबाट फर्केपछि मात्रै यसबारे जानकारी गराएकाले महत्वपूर्ण निर्णय हुनसक्ने अनुमान गर्न सकिन्छ । राष्ट्रपति भेटेलगत्तै ओलीले क्याबिनेट बोलाएकाले धेरैले आशंका गरेका हुन् ।
यसअघि ओलीले स्थायी कमिटी बैठकमा राष्ट्रियसभा निर्वाचनमा कसलाई उमेदवार बनाउने भन्नेबारे सामान्य छलफल चलाएका थिए । यद्यपि यस अघि नै रामबहादुर थापालाई उम्मेदवार बनाइएको थियो ।
तर विपक्षी गठबन्धनले एमालेकै माधव नेपाल निकट डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएपछि भने ओली हच्किएका छन् । किनभने यस्तो अवस्थामा थापालाई भन्दा देवकोटालाई मत हाल्ने धेरै एमाले हुने जानकारी ओलीले पाइसकेका छन् ।