बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ओलीले २७ वैशाखमा विश्वासको मत प्राप्त गर्ने, यस्तो छ अंक गणित !

बुधबार, बैशाख २२ २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिएसँगै राजनीतिक सरगर्मी बढेको छ। ओलीले वैशाख २७ गते संघीय संसद्मा विश्वासको मत लिने कार्यतालिका छ। प्रधानमन्त्री ओली विश्वासको मत लिन आवश्यक संख्या जुटाउन सक्रिय छन्। अर्कोतर्फ विपक्षी दल कुनै पनि हालतमा ओलीलाई विश्वासको पाउन सफल हुन नलिने र वैकल्पिक सरकार बनाउने कसरतमा जुटेका छन्। 

संसदको पछिल्लो अंकगणित हेर्दा ओलीले विश्वासको मत पाउने देखिन्छ। सदनभित्र हुने अंक गणितीय खेल र विभिन्न पार्टीभित्र रहेका अन्तरविरोधले यसलाई काम गर्ने प्रक्षेपण गरिएको छ।

प्रतिनिधिसभाको सदस्य संख्या २७५ मा मतदानमा लगभग सहभागी हुने संख्या २६६ हो र यसमा प्रधानमन्त्री ओलीले १३६ ल्याउनुपर्छ। यदि ओलीलाई कमजोर बनाउने हो भने विपक्षीले सोही संख्यामा अविश्वासको मत पुराउन सक्नुपर्ने हुन्छ।

माओवादीले कारबाही गरेका ४ जना तथा मतदानमा सहभागी हुन नपाउने ५ जना छन्। काँग्रेसका विजयकुमार गच्छदार, अफताब आलम अनि जसपाका रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकार टिकाउनका लागि २६६ मतबाट १३६ मत प्राप्त गर्नुपर्ने हुन्छ।

एमालेसँग १२१ सांसद छन्। प्रधानमन्त्री ओलीले ह्विप जारी गर्नेछन् एमालेका लागि। अब, उनलाई जम्माजम्मी १५ सांसद मात्र चाहिन्छ। नेकपा एमालेका सांसदले अहिले सरकारविरुद्ध नजाने, ह्वि मान्ने बताएका छन्।

सरकारको विरोध गरेको र ओलीसँगको अन्तरविरोधलाई देखाउनका लागि मतदानका दिन एमालेका माधवकुमार नेपाल, भिम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल अनुपस्थित हुन सक्छन्। यी चार जना ओलीले बोलाएको संसदीय दलका विभिन्न बैठकमा सहभागी भएका थिएनन्।

यसो हुँदा एमालेका ११७ सांसद मात्र मतदानमा सहभागी हुन सक्छन्। सरकार टिकाउनका निम्ति अब ओलीलाई आफ्नो दल बाहेक १९ सांसद आवश्यक छन्।

यसका लागि जनता समाजवादी पार्टी निर्णायक हुनेछ। जसपाको महन्थ ठाकुर पक्ष कार्यकारिणि परिषदमा कमजोर भए पनि संसदीय दलमा बलियो रहेको छ। कम्तिमा २३ जना सांसद ठाकुर पक्षमा रहेका छन्। भनेजतिले ओलीलाई सहयोग नगरे पनि राप्रपा र मजदुर किसान पार्टीको मत सहयोगी हुने प्रक्षेपण गरिएको छ।

जसपासँग प्रतिनिधिसभामा कुल ३२ भोट छ । नेपाली कांग्रेससँग ६१, माओवादीसँग ४८ ( सभामुखको घटाउँदा) र साना दल (राप्रपा, राजमो र नेमकिपा) सँग जम्मा ३ भोट छ । यो सबै जोड्दा कुल मत १४१ हुन्छ। यस मध्ये जसपा, राप्रपा र मजदुर किसान पार्टीका १९ सांसद भए ओलीले विश्वासको मत पाउनेछन्।

जसपाको पछिल्लो विवादलाई केलाउँदा कम्तिमा १७ सांसद ठाकुर पक्षमा खुल्ने नै छन्। यसरी विश्वासको मत प्राप्त गर्न सक्ने अनुमान लगाइएको छ।

अंकगणितको अर्को पाटो पनि छ जुन निर्णायक हुन सक्ने संकेत नेपाली कांग्रेसलगायतले देखाएका छन्।

ओलीविरुद्ध अविश्वासको प्रस्तावमा बहुमत पुग्ने अवस्था नरहेको खण्डमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी तटस्थ बस्नेछन्। देउवाले बारम्बार भनिरहेका थिए,‘संख्या पुग्दैन।’

अविश्वासको प्रस्ताव पारित नहुने अवस्था आए कांग्रेस तटस्थ बस्ने र ओलीले विश्वासको मत समेत नपाएको अवस्थामा सरकार संविधान त धारा ७६ (३)मा पुग्नेछ।

‘ओलीको चाहना पनि यहि हो। उनी जसरी पनि प्रतिनिधि सभा विघटन होस् भन्ने चहान्छन् र चुनावी मैदानमा पुगौं भन्छन्’, उच्च स्रोतले भन्यो,‘त्यो अवस्थाका लागि विभिन्न शक्तिले कांग्रेस र जसपालाई प्रभावित बनाइसकेका छन्।’

यसै कारण पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने नयाँ ‘ट्रिक्स’ रचेको कतिपयको आरोप छ। नेपाली कांग्रेसले त खुलेरै अहिले विश्वासको मत लिने निर्णय महामारीबाट ध्यान मोड्ने भनी प्रतिक्रिया जनाएको थियो।