बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध सहित पक्राउ 

मंगलबार, फाल्गुन २५ २०७७

काठमाडौं ।  सिरहाको लहान नगरपालिका–१९ ठाँडी चोकबाट नियन्त्रित लागूऔषध १४ एम्पुल फेनारगन, १४ एम्पुल नोर्फिन, १४ एम्पुल डाईजेल्याप, ७५ ट्याब्लेट नाईट्राभेट र २० क्याप्सुल स्पास्पो प्रोक्सिभन सहित उदयपुर ताप्ली गाउँपालिका–५ रुपाटार बस्ने २३ वर्षीय गोपाल भन्ने युवराज नेपालीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएर जाँच गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 
मोरङको सुन्दरहरैचा नगरपालिका–१० बस्ने केशब तामाङ लगायत ५ जनालाई १० थान डाइजेल्याप, ७ थान लुपिजेसिक, १३ थान एभिल र करिब २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । केशवको घरमा लागूऔषध किनबेच हुने गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 
कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउस नजिक सडकबाट करिब ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ त्रिपुरासुन्दरी नगरपालिका–६ घर भएका १९ वर्षीय सुरज भण्डारीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख ०९१३ नम्बरको हाईस गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा गाडीमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुनेबाट नियन्त्रित लागूऔषध ६ सय ६८ ट्याब्लेट ट्रामाडोल र ६ सय ७२ ट्याब्लेट कोलीवन सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका–१५ बस्ने २१ वर्षीय पासाङ तामाङ र सोही ठाउँ बस्ने १९ वर्षीय पारस थापा रहेका छन् । अस्थाई प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।