काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ६ सय एम्पुल नोर्फिन, ५ सय एम्पुल डाईजेपाम र ५ सय एम्पुल फेनारगन सहित पर्सा वीरगंज महानगरपालिका–१४ राधेमाई बस्ने २० वर्षीय फैयाज राउत गद्धीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ४७४८ नम्बरको बसलाई जाँच गर्नेक्रममा बसमा सवार फैयाजलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्यागङस्थित सडकबाट करिब १० केजी अवैध लागूऔषध गाँजा सहित सोही उपमहानगरपालिका–१९ बस्ने ३४ वर्षीय सोमलाल ब्लोन समेत ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ना.२ ह १८८३ नम्बरको अटोलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटो चालक सोमलाल र अटोमा सवार अन्य २ जनालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका–३ तिनताप्केस्थित सडकबाट करिब १३ केजी १ सय २० ग्राम अवैध आगूऔषध अफिम जस्तो देखिने पदार्थ र १६ ग्राम अवैध लागूऔषध चरेश आइतबार बिहान प्रहरीले बरामद गरेको छ । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको अन टेष्ट लेखिएको मोटरसाइकल प्रहरी चौकी लेवटबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्नेक्रममा बाग्मती प्रदेश ०३–००१ क ०२३३ नम्बरको टिपरमा ठक्कर खाँदा घाइते भएकी मोटरसाइकल पछाडी सवार सोही उपमहानगरपालिका–११ थानाभर्याङ बस्ने ५४ वर्षीया माईली माया योन्जनले बोकेको झोलाभित्र उक्त लागूऔषध प्रहरीले बरामद गरेको हो । दुर्घटनामा घाइते भएकी माईलीलाई उपचारको लागि चुरेहिल अस्पताल लगिएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार रहेका मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।
धादिङको धुनिवेशी नगरपालिका–७ नौविसेस्थित सडकबाट करिब १ सय २१ केजी अवैध लागूऔषध गाँजाको धुलो सहित सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका–७ बस्ने ३३ वर्षीय सुमन तामाङ समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खानीखोला र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले पालुङबाट नौविसेतर्फ आउँदै गरेको ना.४ च ६१३६ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा बोलेरो चालक सुमन तामाङ सहित अन्य २ जनालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।