काठमाडौं । एसिया राइजिङ स्टार्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज भारत ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ ।
कतारको दोहामा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
भारत ‘ए’ को कप्तानी तिलक वर्माले गर्नेछन् । टोलीमा अभिषेक शर्मा, वैभव सूर्यवंशी र रिंकु सिंहजस्ता चर्चित खेलाडी छन् । बलियो खेलाडी सम्मिलित भारत ‘ए’ विरुद्ध नेपालले कडा चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।
एसिया क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा नोभेम्बर १९ देखि २९ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित आठ टोली सहभागी छन् । सहभागी टोलीमा भारत ‘ए’, पाकिस्तान शाहिन्स, यूएई, श्रीलंका ‘ए’, बंगलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन् ।
५० ओभरको प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणमा प्रत्येक टोलीले आफ्नो समूहका अन्य टोलीसँग एक–एक खेल खेल्नेछन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
सेमिफाइनलका खेल नोभेम्बर २६ र २७ मा तथा फाइनल नोभेम्बर २९ मा हुनेछ ।
नेपालले एसिया मेन्स एलिट कपमा गरेको प्रदर्शनका आधारमा प्रतियोगितामा स्थान बनाएको हो । युवा तथा उदीयमान खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने र एसियाली क्रिकेटमा आफ्नो क्षमता प्रदर्शन गर्ने यो महत्वपूर्ण अवसर हुनेछ ।