काठमाडौं । नेकपा (एमाले)ले आज स्थानीय तहका जनप्रतिनिधिहरूको भेला तथा अन्तरसंवाद कार्यक्रम आयोजना गर्दैछ ।
एमालेको स्थानीय विकास विभागको आयोजनामा हुने उक्त भेला बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् ।
भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी र महासचिव शंकर पोखरेललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
एमालेले यसअघि हिजो केन्द्रीय कमिटी बैठक सम्पन्न गरेको थियो । त्यसअघि पार्टीले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो ।
स्थानीय तहका जनप्रतिनिधिहरूसँग अन्तरसंवाद गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय सरकार सञ्चालन तथा विकास निर्माणका विषयमा छलफल हुने बताइएको छ ।