काठमाडौं । निर्वाचन आयोग आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । निर्वाचनको पूर्वतयारीस्वरूप आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग छलफल तथा परामर्श सुरु गर्न लागेको हो ।
आयोगले आज बिहान ११ः३० बजे विभिन्न राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिहरूलाई छलफलका लागि आमन्त्रण गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न दलका प्रतिनिधिहरूलाई बोलाइएको जानकारी दिए । उनका अनुसार स्थानीय तथा प्रदेश तहको निर्वाचनका सन्दर्भमा दलहरूसँग आवश्यक परामर्श गरिनेछ ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ । त्यसैले आयोगले नयाँ निर्वाचनको मिति घोषणा तथा निर्वाचन व्यवस्थापनका लागि आवश्यक गृहकार्य अघि बढाएको हो ।
निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीका विषयमा राजनीतिक दलहरूको सुझाव लिन छलफल आयोजना गरिएको आयोगले जनाएको छ ।
राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफलपछि आयोगले आफूमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने कार्यक्रम तय गरेको छ ।