काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने घोषणा गरेको छ। ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत पार्टीको संगठनलाई प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यसहित यो योजना अघि सारिएको हो।
राजधानी प्रदेश कमिटीले बुधबार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको सदस्यतासम्बन्धी कार्यशालामा पार्टी नेतृत्वले डिजिटल सदस्यता प्रणालीबारे जानकारी दिएको हो।
एमालेका अनुसार पार्टी र जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा संगठनलाई तल्लो तहसम्म सक्रिय र व्यवस्थित बनाउने लक्ष्यसहित डिजिटल प्रणाली लागू गर्न लागिएको हो।
पार्टी सचिव डा. राजन भट्टराईले पार्टीका विवरण, संगठनात्मक अवस्था, सूचना, प्रतिवेदन तथा जनसम्पर्कलाई डिजिटल माध्यमबाट व्यवस्थित गर्दै लैजाने योजना रहेको बताउनुभयो। उहाँले पार्टी पंक्तिलाई प्रविधिको अधिकतम उपयोग गर्न प्रेरित गरिने पनि उल्लेख गरे।
त्यसैगरी, पार्टी नेतृत्वले नेता तथा कार्यकर्ताको राजनीतिक चेतना र क्षमता अभिवृद्धिका लागि वडा तथा पालिका स्तरमै नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।
पार्टी सचिव भानुभक्त ढकालले सदस्यता र अन्य संगठनात्मक अभिलेखलाई प्राकृतिक तथा अन्य विपद्बाट सुरक्षित राख्न, साथै कामलाई छिटो, व्यवस्थित र प्रभावकारी बनाउन सदस्यता प्रणालीलाई डिजिटल बनाउनु आवश्यक रहेको बताए ।