काठमाडौं । काठमाडौंको गोठाटारस्थित पहेँलो पुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्।
प्रहरीका अनुसार राति करिब ९ः१५ बजे काठको गोदाम तथा सटरमा विद्युत् सर्ट भई आगलागी सुरु भएको थियो। आगो तीव्र रूपमा फैलिँदा आसपास रहेका फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो पार्ट्स, हार्डवेयर, किराना, स्टेशनरी, मिठाइलगायतका पसलमा ठूलो क्षति पुगेको हो।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी परिचालन भएका थिए। आगो नियन्त्रणमा लिन ९ वटा दमकल र ३ वटा पानी ट्याङ्की प्रयोग गरिएको थियो।
प्रहरीका अनुसार करिब ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट मानवीय क्षति भएको विवरण हालसम्म प्राप्त भएको छैन।
घटनाबाट भएको भौतिक तथा आर्थिक क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको छ।