शनिबार, साउन १६ २०८३

शनिबार, साउन १६ २०८३

भदौ २४ को हिंसाका प्रायोजकमाथि कारबाही नभएसम्म अराजकता अन्त्य हुँदैन : गोकुल बास्कोटा

शनिबार, साउन १६ २०८३

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले भदौ २४ गते भएको हिंसात्मक घटनाका प्रायोजक र त्यसका मूल कारणमाथि कारबाही नभएसम्म देशमा अराजकता र अस्थिरता अन्त्य हुन नसक्ने बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले भदौ २४ गतेको घटनालाई ‘टीओबी प्रायोजित आतङ्कवादी आमहिंसा’को संज्ञा दिएका छन्। उनले उक्त घटनाका अतिवादी जरा नष्ट नगरेसम्म देश स्थायित्वतर्फ अघि बढ्न नसक्ने दाबी गरेका छन्।

उनले सरकारलाई घटनाका दृश्य तथा अदृश्य प्रायोजक को थिए भन्ने सत्य बाहिर ल्याउन र उनीहरूलाई कानुनी दायरामा ल्याउन तत्परता देखाउन आग्रह गरेका छन्।

बास्कोटाले दण्डहीनताको संरक्षण स्वीकार्य नहुने उल्लेख गर्दै घटनाबारे सरकारको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने माग गरेका छन्। उनले सरकारसँग घटनाका सम्बन्धमा जवाफ दिनसमेत आग्रह गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘गएको भदौ २४ को टीओबी प्रायोजित आतङ्कवादी आमहिंसाका अतिवादी जरा नष्ट नगरेसम्म देश अराजक अस्थिरबाट तङ्रिनै सक्दैन। त्यो धतुरे झाडी फाँड्न त्यही जगमा सिरानी हालेर सुतेको यो सरकार तत्पर छ? दृश्य, अदृश्य प्रायोजक को थिए? दण्डहीनताको रक्षा स्वीकार्य छैन। नो इफ, बट एन्ड अगेन। बोल सरकार एक फेर बोल!’

बास्कोटाले घटनामा संलग्न तथा त्यसलाई प्रोत्साहन वा संरक्षण गर्ने शक्तिमाथि छानबिन गरी कानुनी कारबाही अघि बढाउनुपर्नेमा जोड दिएका छन्।