शनिबार, साउन १६ २०८३

शनिबार, साउन १६ २०८३

गणेश यादवका परिवारसँग आठबुँदे सहमति

शनिबार, साउन १६ २०८३

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारसँग आठबुँदे सहमति भएको बताएका छन् ।

लहानमा जिल्ला सुरक्षा समितिको बैठकपछि गृहमन्त्री गुरुङ गएराति यादवको घर सिरहाको औरही गाउँपालिका–स्थित तुलसीयाही पुगेका थिए । उनले मृतक यादवका बुबा, आमा तथा आफन्तसँग छलफल गरेका थिए ।

छलफलका क्रममा मृतक परिवारले राखेका विभिन्न मागमा सरकार सहमत भएको गृहमन्त्री गुरुङले जानकारी दिनुभयो। परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, उचित क्षतिपूर्ति तथा मृतकका परिवारका सदस्यलाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग राखेका थिए।

यस्तै, सरकारका तर्फबाट मृतकका बुबा र आमाको निःशुल्क उपचार गर्ने तथा परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने विषयमा समेत सहमति भएको गृहमन्त्री गुरुङले बताए ।

गृहमन्त्री गुरुङले गोलबजार घटनाको छानबिनमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले घटनामा दोषी देखिने जोसुकैलाई कानुनी दायरामा ल्याएर कारबाही गरिने बताए ।

सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन भइरहेका बेला यही साउन १४ गते गोली लागेर गणेश यादवको मृत्यु भएको थियो। त्यस घटनापछि स्थानीय क्षेत्रमा तनाव उत्पन्न भएको थियो।