काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमयुक्त सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
नेपाल प्रहरीले आज बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखी विभिन्न सडकखण्डमा यातायात सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ।
काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
त्यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
वर्षाका कारण इलाम नगरपालिका–९ स्थित मेची राजमार्ग हिलाम्मे भएपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।
यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको छ।
त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम उच्च हुने भएकाले प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन तथा जोखिमयुक्त सडकमा यात्रा नगर्नसमेत प्रहरीले अनुरोध गरेको छ।