काठमाडौं । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभरका नारायण मन्दिरमा दर्शन र पूजा–आराधनाका लागि भक्तजनको उल्लेख्य घुइँचो लागेको छ।
धार्मिक मान्यताअनुसार आजकै दिनदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने विश्वास छ। यस अवसरमा भक्तजन बिहानैदेखि भगवान् विष्णुको पूजा, आराधना र दर्शनका लागि विभिन्न नारायण मन्दिर पुगेका हुन्।
काठमाडौं उपत्यकाका चार प्रसिद्ध नारायण मन्दिर—चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायणमा भक्तजनको विशेष भीड लागेको छ। यी चार मन्दिरलाई ‘चार नारायण’का रूपमा चिनिन्छ। हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन एकैदिन चारै नारायणको दर्शन र पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेकाले टाढाटाढाबाट पनि श्रद्धालुहरू आउने गरेका छन्।
चार नारायणको दर्शन गर्न नसक्ने भक्तजन भने उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा पुगेर पूजा–आराधना गरिरहेका छन्। बूढानीलकण्ठमा हरि (विष्णु) र हर (शिव) को मूर्ति एउटै विशाल शिलामा स्थापित रहेकाले यहाँ दर्शन गर्दा पनि मनोकामना पूरा हुने जनविश्वास छ।
यस्तै, काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी परिसरमा रहेको चतुव्र्युह नारायण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। नारायणहिटी चतुव्र्युह मठका मठाधीश राजेश्वरानन्द सरस्वतीका अनुसार यस मन्दिरमा चारै नारायणका मूर्ति स्थापना भएकाले यहाँ दर्शन गरेमा चारै नारायण मन्दिरको दर्शन गरेसरह पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ। यही मान्यताका कारण हरिशयनी एकादशीका दिन चतुव्र्युह नारायण मन्दिरमा पनि श्रद्धालुको उल्लेख्य उपस्थिति देखिएको छ।