काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्ताले ट्राफिक नियम उल्लङ्घन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले बाल्यकाल बिताएको ठाउँमा पुगेका बेला पुराना सम्झनाले भावुक बनाएको र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गरेका छन्।
“बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए। त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछ भन्ने कुरा आफैँ महसुस गरेको छु,” उनले उल्लेख गरेका छन्।
सांसद गुप्ताले भविष्यमा त्यही जोश र ऊर्जालाई देश र जनताको हितमा लगाउने प्रतिबद्धता व्यक्त गर्दै आफूबाट जानी वा नजानी भएको गल्तीप्रति क्षमा मागेका छन्।
उनको मोटरसाइकलको पछाडि उभिएर यात्रा गरेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो, जसपछि उनी आलोचनामा परेका थिए।