मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सांसद खुस्बु ओलीलाई सामाजिक सञ्जालबाट धम्की दिएको आरोपमा दुई जना पक्राउ

आइतबार, साउन ३ २०८३

चितवन । प्रतिनिधिसभा सदस्य खुस्बु ओलीलाई सामाजिक सञ्जालमार्फत धम्की दिने तथा चरित्रहत्या गर्ने सामग्री प्रकाशित गरेको आरोपमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ।

प्रहरीले भरतपुर महानगरपालिका–१६ निवासी तेजेन्द्रप्रसाद पौडेल र बुटवल घर भई नारायणगढमा व्यवसाय गर्दै आएका अभि घिमिरेलाई पक्राउ गरेको हो। उनीहरूले फेसबुकमार्फत सांसद ओलीविरुद्ध धम्कीपूर्ण र चरित्रहत्या गर्ने खालका सामग्री पोस्ट गरेको आरोप लगाइएको छ।

पक्राउ परेका पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सदस्य रहेको जिल्ला पार्टी स्रोतले जनाएको छ। यद्यपि उनी पार्टीको औपचारिक संगठनात्मक संरचनामा भने नरहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार सांसद ओलीले दर्ता गराएको साइबर अपराधसम्बन्धी उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पहिचान गरी ती व्यक्तिहरूलाई चितवन पठाएको हो।

बिदाका कारण आइतबार म्याद थपको प्रक्रिया अघि नबढाइएकाले प्रहरीले पक्राउ परेकाहरूको विस्तृत विवरण सार्वजनिक गरेको छैन। एसपी पौडेलले नियन्त्रणमा लिइएकामध्ये एक जना रास्वपा कार्यकर्ता रहेको जानकारी प्राप्त भएको बताए।

प्रहरीले सोमबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ। हालको कानुनी व्यवस्थाअनुसार साइबर अपराधसम्बन्धी जाहेरी जुनसुकै स्थानमा दर्ता भए पनि सम्बन्धित प्रहरी कार्यालयबाट मुद्दाको अनुसन्धान तथा प्रक्रिया अघि बढाउन सकिने व्यवस्था रहेको छ।