मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

विश्वकप-२०२६ : इङ्ल्यान्डविरुद्ध अर्जेन्टिनाकाे रोमाञ्चक पुनरागमन, उपाधिका लागि मेसी–यमलको बहुप्रतीक्षित प्रतिस्पर्धा

बिहिबार, असार ३२ २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधिका लागि स्पेन र साविक विजेता अर्जेन्टिना आमनेसामने हुने भएका छन्। दुवै टोलीले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन्।

स्पेनले पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गर्दै १६ वर्षपछि विश्वकपको फाइनलमा पुनरागमन गरेको हो। स्पेनको जितमा मिकेल ओयारजाबालले पेनाल्टीमार्फत पहिलो गोल गरे भने पेड्रो पोरोले दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे।

दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डविरुद्ध २–१ को रोमाञ्चक पुनरागमन जित निकाल्दै लगातार दोस्रो पटक विश्वकपको फाइनल यात्रा तय गर्‍यो।

इङ्ल्यान्डले खेलको ५५औँ मिनेटमा मोर्गन रोजर्सको आकर्षक क्रसलाई एन्थोनी गोर्डनले गोलमा परिणत गर्दै अग्रता लिएको थियो। त्यसपछि लगातार दबाब सिर्जना गरेको अर्जेन्टिनाले सुरुआती अवसरहरू सदुपयोग गर्न सकेन। निको गोन्जालेजको प्रहार गोलकिपर जोर्डन पिकफोर्डले उत्कृष्ट रूपमा बचाउ गरे भने एलेक्सिस म्याक एलिस्टेरका दुई प्रहार पोस्टमा ठोक्किएका थिए।

तर खेलको अन्तिम चरणमा अर्जेन्टिनाले शानदार पुनरागमन गर्‍यो। निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नान्डेजले शक्तिशाली प्रहार गर्दै खेल १–१ को बराबरीमा ल्याए।

त्यसपछि इन्जुरी समयमा मेसीले दाहिने फ्ल्याङ्कबाट दिएको सटिक क्रसलाई लाउटारो मार्टिनेजले हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई २–१ को ऐतिहासिक जित दिलाए।

अब आइतबार हुने फाइनलमा विश्व फुटबलका दुई फरक पुस्ताका प्रतीक आमनेसामने हुनेछन्। एकातिर करियरको अन्तिम चरणमा रहेका लियोनल मेसी दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यमा हुनेछन् भने अर्कोतर्फ युवा स्टार लामिन यमल पहिलो पटक विश्वकप ट्रफी उचाल्ने अभियानमा मैदान उत्रिनेछन्।

अनुभव र युवा जोशबीचको यो उपाधि भिडन्तलाई विश्व फुटबलकै सबैभन्दा प्रतिक्षित फाइनलमध्ये एकका रूपमा हेरिएको छ। विशेषगरी मेसी र यमलबीचको सम्भावित प्रतिस्पर्धाले फाइनलको आकर्षणलाई अझ उचाइमा पुर्‍याएको छ।