काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशमा बढ्दो निराशा, आत्मदाहका घटना र सुकुम्बासीको दयनीय अवस्थाप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। उनले यी विषयलाई सत्ता–प्रतिपक्षको राजनीतिक विवादका रूपमा नभई समाजमा आशा जगाउने साझा दायित्वका रूपमा लिन आग्रह गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा शर्माले विकट गाउँबाट काठमाडौं आएका गणेश नेपालीको आत्मदाहदेखि कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा सुकुम्बासी बालबालिका कष्टकर अवस्थामा रहेको विषयसम्म उल्लेख गर्दै सरकार समस्याग्रस्त नागरिकमाझ पुग्नुपर्ने बताए।
उनले बर्खायाममा सुकुम्बासीलाई विस्थापित गरेर आफ्नै देशभित्र शरणार्थीजस्तै अवस्था सिर्जना भएको टिप्पणी गर्दै उनीहरू थप पीडामा बाँच्न बाध्य भएको बताए।
शर्माले अहिले सरकारको आलोचना मात्र गर्ने समय नभई समाजमा आशा जगाउन सबै पक्षले सहकार्य गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। उनले प्रेम आचार्य र गणेश नेपालीको आत्मदाहका घटनालाई स्मरण गर्दै समाजमा निराशा किन बढिरहेको छ भन्ने प्रश्नको गम्भीर समीक्षा गर्नुपर्ने बताए।
सरकारलाई सम्बोधन गर्दै उनले होल्डिङ सेन्टरमा कोही पनि भोकै बस्न नपरोस् र भविष्यमा कसैले आत्मदाह गर्नुपर्ने अवस्था नआओस् भन्ने वातावरण निर्माण गर्न आग्रह गरे। यस्ता मानवीय विषयमा नेपाली कांग्रेस सरकारसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो।
होल्डिङ सेन्टरमा सुकुम्बासीको पक्षमा आवाज उठाउने युवालाई हिरासतमा राखिएको घटनाप्रति पनि उनले असन्तुष्टि व्यक्त गर्दै समस्याको समाधान दमनबाट नभई संवेदनशील ढंगले खोजिनुपर्ने धारणा राखे।
शर्माले सरकार सिंहदरबार वा संसद्मा मात्र सीमित नभई समस्यामा परेका नागरिकबीच उपस्थित भएर राज्य उनीहरूको साथमा रहेको अनुभूति दिलाउनुपर्नेमा जोड दिए।