काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार भएको क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज र लाउटारो मार्टिनेजले समान एक–एक गोल गरे। स्विट्जरल्यान्डका डान एनडोयेले टोलीका लागि एक गोल फर्काए।
खेलको १०औँ मिनेटमा म्याक एलिस्टरले हेडमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसपछि ६७औँ मिनेटमा एनडोयेले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
स्विट्जरल्यान्डलाई ७२औँ मिनेटमा ठूलो झट्का लाग्यो। ब्रेल एम्बोलोले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाडे र टोली बाँकी समय १० खेलाडीमा सीमित भयो।
निर्धारित ९० मिनेटसम्म दुवै टोली १–१ को बराबरीमा रहेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको ११२औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए। त्यसपछि लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित गरे।
यस जितसँगै अर्जेन्टिनाले विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ। अब फाइनल प्रवेशका लागि अर्जेन्टिनाले इङल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।