मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

संविधान संशोधनबारे कांग्रेसले आज औपचारिक धारणा सार्वजनिक गर्दै

बिहिबार, असार २५ २०८३

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा आफ्नो औपचारिक धारणा आज सार्वजनिक गर्ने भएको छ।

पार्टी सभापति गगनकुमार थापाले ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ शीर्षक दस्तावेज आज दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सार्वजनिक गर्नुहुनेछ।

संविधान संशोधनसम्बन्धी अध्ययन तथा सुझाव तयार गर्न कांग्रेसले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा विज्ञ समिति गठन गरेको थियो। समितिमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी, ललितकुमार बस्नेत तथा अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ र झलमाया विक सदस्य छन्। समितिको सदस्य सचिवको जिम्मेवारी अधिवक्ता राजु कटुवाललाई दिइएको छ।

उक्त समितिले तयार पारेको अध्ययन तथा सुझावका आधारमा कांग्रेसले संविधान संशोधनसम्बन्धी आफ्नो आधिकारिक दृष्टिकोण सार्वजनिक गर्न लागेको हो।

प्रमुख राजनीतिक दलहरूबीच संविधान संशोधनका विषयमा मतभिन्नता कायम रहेका बेला कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो। यसअघि संविधान संशोधनसम्बन्धी बहस र प्रक्रियालाई अघि बढाउने उद्देश्यले गठन गरिएको ‘संविधान संशोधन बहसपत्र कार्यदल’ बाट नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चा (राजमो) बाहिरिने निर्णय गरेका थिए।