सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

१.४८ करोडभन्दा बढीको अवैध क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ

शनिबार, असार २० २०८३

काठमाडौं । नेपाल प्रहरीले रु १ करोड ४८ लाखभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सामाजिक सञ्जालमार्फत विभिन्न प्रलोभन देखाई सर्वसाधारणलाई ठगी गर्ने र प्राप्त रकमलाई क्रिप्टोकरेन्सीमा रूपान्तरण गरी अवैध कारोबार गरेको आरोपमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५ निवासी २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरेको हो। उनलाई शुक्रबार सार्वजनिक गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार अनुसन्धानका क्रममा प्रजापतिले हालसम्म रु १ करोड ४८ लाख ७६ हजार ५२७ रुपैयाँ ४६ पैसा बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको खुलेको छ।

अनुसन्धानका क्रममा प्रजापतिको विभिन्न डिजिटल खातामा ७ हजार ४८५ अमेरिकी डलर (नेपाली रुपैयाँ करिब रु ११ लाख ४१ हजार ९८३) मौज्दात रहेको पनि प्रहरीले फेला पारेको जनाएको छ।

प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर उनीमाथि थप अनुसन्धान गरिरहेको छ।

नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार नेपालमा क्रिप्टोकरेन्सीको कारोबार, लगानी तथा विनिमय गैरकानुनी मानिन्छ।