काठमाडौं । सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथि भइरहेको प्रहारलगायत विषयमा छलफल गर्न नेपाली कांग्रेसले प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको आह्वानमा आज दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आमन्त्रण गरिएको छ ।
नेता आङ्देम्बेका अनुसार बैठकमा सरकारको जवाफदेहिता, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिका, पत्रकार पक्राउ तथा सञ्चारमाध्यममा प्रहरी परिचालन गरिएको विषयमा छलफल हुनेछ ।
त्यसैगरी, विभिन्न घटनाका छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, निष्पक्ष अनुसन्धान सुनिश्चित गर्नुपर्ने लगायतका विषय पनि बैठकको एजेन्डामा रहेको उनले जानकारी दिए ।