काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का बाँकी खेलका लागि बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ ।
कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले आइतबार जिशनलाई टोलीमा अनुबन्ध गरिएको जानकारी दिनुभयो । उहाँले जिशनको आगमनले टोलीको शीर्षक्रम थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।
‘जिशन पछिल्लो समय राम्रो लयमा रहेकाले हामीले उनलाई अनुबन्ध गरेका हौँ । उनको आगमनपछि कर्णाली याक्सको शीर्षक्रम अझ बलियो हुने विश्वास लिएका छौँ,’ अध्यक्ष घिमिरेले भन्नुभयो ।
टोलीमा यसअघि नै दुई बंगलादेशी खेलाडी रहेकाले जिशनलाई पनि नेपालको वातावरणमा घुलमिल भएर खेल्न सहज हुने उहाँको भनाइ छ ।
जिशन कर्णाली याक्समा अनुबन्ध हुने तेस्रो बंगलादेशी खेलाडी हुन् । यसअघि टोलीले अरिफुल इस्लाम र अकबर अलीलाई अनुबन्ध गरिसकेको छ ।
२१ वर्षीय ब्याटिङ अलराउन्डर जिशनले बंगलादेशको यू–१९ टोली हुँदै ‘ए’ टोलीबाट समेत खेलिसकेका छन् । उनले बंगलादेशका फ्रेन्चाइज टोली राजशाही वारियर्स र दुरबार राजशाहीबाट पनि खेलिसकेका छन् ।
उनले लिस्ट ‘ए’ क्रिकेटका ४९ खेलमा एक हजार २९५ रन बनाएका छन् । त्यस्तै, २७ टी–२० अन्तर्राष्ट्रिय खेलमा ५७१ रन बनाएका छन् ।
अस्ट्रेलियामा आयोजित टप एन्ड टी–२० शृंखलामा उनले नेपालविरुद्ध पनि प्रभावशाली प्रदर्शन गरेका थिए । उक्त खेलमा बंगलादेशले नेपाललाई ९ विकेटले पराजित गर्दा जिशनले अविजित ५२ रन बनाएका थिए । उनले २९ बलमा तीन चौका र चार छक्का प्रहार गरेका थिए । सोही खेलमा कर्णाली याक्सबाट खेलिरहेका अरिफुल इस्लामले पनि ३४ रन बनाएका थिए ।
कर्णाली याक्सले सोमबार प्रतियोगिताको आफ्नो तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेलमा जिशन पनि टोलीका लागि उपलब्ध हुनेछन् ।
प्रतियोगितामा कर्णालीले सुरुआती दुवै खेल जित्दै प्रभावशाली सुरुवात गरेको छ । उसले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले र दोस्रो खेलमा विराटनगर किंग्सलाई चार विकेटले पराजित गरेको थियो ।