काठमाडौं । अमेरिका फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बुधबार सम्पन्न राउन्ड अफ ३२ को खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो।
अमेरिकाको जितमा फोलारिन बालोगुन र मलिक टिलम्यानले एक–एक गोल गरे। खेलको ४५औँ मिनेटमा बालोगुनले गोल गर्दै अमेरिकालाई पहिलो अग्रता दिलाएका थिए।
दोस्रो हाफको ६४औँ मिनेटमा बालोगुनले रातो कार्ड पाएपछि अमेरिका १० खेलाडीमा सीमित बनेको थियो। खेलाडी संख्यामा कमजोर बने पनि अमेरिकाले आफ्नो प्रदर्शनलाई निरन्तरता दियो।
खेलको ८२औँ मिनेटमा मलिक टिलम्यानले दोस्रो गोल गर्दै अमेरिकाको जित सुनिश्चित गरे। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि अमेरिका २–० को विजेता बन्यो।
यससँगै अमेरिका विश्वकपको अन्तिम १६ मा पुगेको छ, जहाँ उसको भेट बेल्जियमसँग हुनेछ। बेल्जियमले गएराति सम्पन्न अर्को खेलमा सेनेगललाई ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो।