काठमाडौं । कप्तान ह्यारी केनको उत्कृष्ट प्रदर्शनमा इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
एटलान्टा स्टेडियममा बुधबार सम्पन्न राउन्ड अफ ३२ को खेलमा इङ्ग्ल्यान्डले डीआर कंगोलाई २–१ ले पराजित गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो।
खेलको सुरुआतमा भने डीआर कंगोले अग्रता बनाएको थियो। सातौं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए।
पहिलो हाफमा पछि परेको इङ्ग्ल्यान्डले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो। खेलको ७५औं मिनेटमा कप्तान ह्यारी केनले बराबरी गोल गर्दै इङ्ग्ल्यान्डलाई खेलमा फर्काए। त्यसपछि ८६औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि इङ्ग्ल्यान्ड विजयी हुँदै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो।
यस हारसँगै डीआर कंगोको विश्वकप यात्रा राउन्ड अफ ३२ मै टुंगिएको छ भने इङ्ग्ल्यान्डले उपाधितर्फको आफ्नो अभियानलाई निरन्तरता दिएको छ।