बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पाराग्वेको सनसनीपूर्ण जित, जर्मनी विश्वकपबाट बाहिर

मंगलबार, असार १६ २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ मा पाराग्वेले अप्रत्याशित नतिजा निकाल्दै चार पटकको विश्वविजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै प्रतियोगिताबाट बाहिरिएको छ। सोमबार बिहान भएको राउन्ड अफ ३२ को रोमाञ्चक खेलमा पाराग्वे ४–३ ले विजयी हुँदै अन्तिम १६ मा पुगेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म दुवै टोलीले १–१ को बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। सुटआउटमा पाराग्वेले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक जित हात पार्‍यो।

यो हारसँगै विश्वकप इतिहासमा जर्मनी पहिलो पटक पेनाल्टी सुटआउटमा पराजित भएको छ। साथै, सन् २०१४ मा विश्वकप जितेपछि लगातार चौथो संस्करणमा जर्मनी अन्तिम १६ मा पुग्न असफल भएको छ।

खेलको ४२औँ मिनेटमा जुलियो एन्सिसोले हेडमार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा दबाबमा देखिएको जर्मनीले दोस्रो हाफको सुरुवातमै पुनरागमन गर्दै ५३औँ मिनेटमा काइ हाभर्ट्जको गोलबाट खेल १–१ को बराबरीमा ल्याएको थियो।

त्यसपछि दुवै टोलीले थप समयमा गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ पाराग्वे विजयी बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्न सफल भयो।