काठमाडौं । जेठ २८ गतेदेखि सुरु भएको फिफा विश्वकपको समूह चरणका सबै खेल सम्पन्न भएसँगै नकआउट चरण (राउण्ड अफ ३२) मा पुग्ने ३२ टोलीको टुंगो लागेको छ।
समूह ‘जे’ अन्तर्गतका अन्तिम दुई खेल सम्पन्न भएपछि समूह चरण सकिएको हो। यस संस्करणमा पहिलो पटक ४८ टोली सहभागी भएकाले राउण्ड अफ ३२ पनि पहिलो पटक समावेश गरिएको चरण हो।
साविक विजेता अर्जेन्टिना, साविक उपविजेता फ्रान्स तथा पूर्व विजेता ब्राजिल, स्पेन, जर्मनी र इंग्ल्यान्डसँगै उपाधि दाबेदार पोर्चुगल र नेदरल्यान्ड्सले नकआउट चरणमा स्थान बनाएका छन्।
यद्यपि सन् १९३० र १९५० को विश्वकप विजेता उरुग्वे भने समूह चरणबाटै बाहिरिएको छ। उरुग्वेले समूह चरणमा कुनै पनि खेल जित्न सकेन।
सहआयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडा तीनै टोली नकआउट चरणमा प्रवेश गर्न सफल भएका छन्। पहिलो पटक विश्वकप सहआयोजना गरेको क्यानडाले घरेलु मैदानमा पहिलो अंक र पहिलो जित निकाल्दै पहिलो पटक नकआउट चरणमा स्थान बनाएर इतिहास रचेको छ।
विश्वकपमा पुनरागमन गरेका नर्वे, बोस्निया एण्ड हर्जगोभिना र दक्षिण अफ्रिकाले पनि अन्तिम ३२ मा स्थान बनाएका छन्। अफ्रिकी टोली आइभरी कोस्ट पहिलो पटक नकआउट चरणमा पुगेको छ भने विश्वकपमा डेब्यु गरेको केप भर्डे समूह चरण अपराजित रहँदै अन्तिम ३२ मा प्रवेश गरेर सबैलाई चकित बनाएको छ।
यस विश्वकपमा डेब्यु गरेका चार टोलीमध्ये केप भर्डे मात्र नकआउट चरणमा पुग्न सफल भयो। अन्य तीन टोली कुरासाओ, उज्वेकिस्तान र जोर्डन भने समूह चरणबाटै बाहिरिए।
नकआउट चरणमा युरोपेली र अफ्रिकी टोलीहरूको उल्लेख्य उपस्थिति रहँदा एसियाबाट जापान र अस्ट्रेलियासहित केही टोली मात्र अघि बढ्न सफल भएका छन्।
यस संस्करणमा समूह विजेता र उपविजेतासँगै उत्कृष्ट आठ तेस्रो स्थानका टोलीले पनि अन्तिम ३२ मा स्थान बनाएका छन्। उत्कृष्ट तेस्रो टोलीका रूपमा डीआर कंगो, स्वीडेन, घाना, इक्वेडर, बोस्निया एण्ड हर्जगोभिना, पाराग्वे, सेनेगल र अल्जेरिया नकआउट चरणमा पुगेका छन्।
इरान, दक्षिण कोरिया, स्कटल्यान्ड र उरुग्वे भने उत्कृष्ट तेस्रो टोलीको प्रतिस्पर्धाबाट पनि बाहिरिए। सेनेगलसँग समान तीन अंक जोड्दा पनि इरान, दक्षिण कोरिया र स्कटल्यान्ड गोलअन्तरमा पछि परे भने उरुग्वेले दुई अंक मात्र जोड्न सक्यो।
अब कुन टीमको प्रतिद्वन्द्वी को ?
दक्षिण अफ्रिका र क्यानडा
ब्राजिल र जापान
जर्मनी र पाराग्वे
नेदरल्यान्ड्स र मोरक्को
आइभरी कोस्ट र नर्वे
फ्रान्स र स्विडेन
मेक्सिको र इक्वेडर
इंग्ल्यान्ड र डीआर कंगो
बेल्जियम र सेनेगल
अमेरिका र बोस्निया एन्ड हर्जगोभिना
स्पेन र अष्ट्रिया
पोर्चुगल र क्रोएसिया
स्विट्जरल्यान्ड र अल्जेरिया
अष्ट्रेलिया र इजिप्ट
अर्जेन्टिना र केप भर्ड
कोलम्बिया र घाना