बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

‘गोल्डेन बुट’को दौडमा सबैभन्दा बलियो दाबेदार मेसी  

आइतबार, असार १४ २०८३

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिमतिर कीर्तिमानी गोल गरेपछि अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गरेको छ। खेलको ८०औँ मिनेटमा गोल गर्दै मेसीले जारी विश्वकपमा आफ्नो गोल सङ्ख्या ६ पुर्‍याएका छन्।

यस गोलसँगै मेसीले विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। उनी विश्वकपका लगातार सात खेलमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्।

समूह ‘जे’ अन्तर्गतको खेलमा जिओभानी लो सेल्सोको गोलबाट साविक विजेता अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको थियो।

टेक्ससको डल्लास स्टेडियममा भएको खेलको १९औँ मिनेटमा मिडफिल्डर लो सेल्सोले आकर्षक गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए। त्यसपछि ३१औँ मिनेटमा प्राप्त पेनाल्टीलाई स्ट्राइकर लाउतारो मार्टिनेजले गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाए।

खेलको ५५औँ मिनेटमा जोर्डनका लागि मुसा अल तमारीले एक गोल फर्काए पनि ८०औँ मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित गरेका थिए।

यस जितसँगै मेसी जारी प्रतियोगितामा ६ गोलसहित ‘गोल्डेन बुट’को दौडमा सबैभन्दा बलियो दाबेदार बनेका छन्।