बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अभिषेक गिरी पक्राउ, कैदीबन्दीको भत्ता दुरुपयोग गरेको आरोप

शनिबार, असार १३ २०८३

विराटनगर । मोरङ प्रहरीले विराटनगरका विवादास्पद छविका अभिषेक गिरीलाई पक्राउ गरेको छ। उनलाई शनिबार बिहान विराटनगर–११, मधुमारास्थित निवासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गिरीको घरमा अवैध हतियार लुकाइएको भन्ने सूचनाका आधारमा छापा मारिएको थियो। तर, खानतलासीका क्रममा कुनै हतियार फेला परेन।

हतियार नभेटिएपछि प्रहरीले उनलाई जिल्ला कारागार मोरङका कैदीबन्दीलाई उपलब्ध गराइने भत्ता तथा अन्य सेवा–सुविधासम्बन्धी रकम दुरुपयोग गरेको आरोपमा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालका अनुसार कैदीबन्दीले पाउने भत्ता तथा अन्य रकम असुल गरेको भन्ने गम्भीर उजुरीका आधारमा गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

गिरी यसअघि अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा दोषी ठहर भई ९ वर्ष कारागारमा बसेका थिए। कारागारमा रहँदा उनी लामो समय चौकीदारको जिम्मेवारीमा थिए। त्यसक्रममा कैदीबन्दीमाथि दमन तथा आर्थिक शोषण गरेको आरोप उनीमाथि लाग्दै आएको थियो।

कैद सजाय पूरा गरी करिब दुई वर्षअघि रिहा भएका गिरीले त्यसपछि ‘गिरी फाउन्डेशन’ स्थापना गरी सामाजिक गतिविधिमा सक्रिय भएको बताएका थिए। पछिल्लो समय उनी नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय थिए। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेको चुनावी अभियानमा कमाण्डरको भूमिका निर्वाह गरेका थिए।