काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत, साधन र सीपमूलक तालिमको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हासिल गर्न नसकेको बताएका छन् ।
लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रहरीका विभिन्न विभाग र इकाइ विस्तार गरिए पनि तिनलाई आवश्यक स्रोत, साधन र दक्ष जनशक्तिले सुसज्जित बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
महानिरीक्षक कार्कीले फिल्डमा कार्यरत प्रहरी युनिटहरूलाई पर्याप्त स्रोत–साधन उपलब्ध गराउनुका साथै कार्यरत जनशक्तिलाई सीपमूलक तालिम दिन नसकिए अपेक्षाअनुसारको परिणाम हासिल गर्न कठिन हुने बताए ।
उनले नेपाल प्रहरी सुरक्षित, स्वस्थ र लागुऔषधरहित समाज निर्माणमा सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै लागुऔषध नियन्त्रणका तीन प्रमुख आधार– रोकथाम, नियन्त्रण र पुनःस्थापनाको क्षेत्रमा प्रहरी निरन्तर सक्रिय, सतर्क र जिम्मेवार रूपमा काम गरिरहेको बताए। आगामी दिनमा यस क्षेत्रमा थप सक्रियता बढाइने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
आईजीपी कार्कीले लागुऔषध रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारसँगै सबै सरोकारवाला निकायबीच सहकार्य, समन्वय र साझेदारी अपरिहार्य रहेको बताए ।
उनले लागुऔषध दुर्व्यसनमा परेकाहरूको उपचार तथा पुनःस्थापनाका लागि पोखरामा पनि पुनःस्थापना केन्द्र स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए ।