चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन व्यवस्थापकीय कमजोरी र ढिलासुस्तीका कारण विवादमा परेको छ। असार ९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको महाधिवेशन असार ११ गतेसम्म पनि नसकिँदा प्रतिनिधि, नेता तथा कार्यकर्ताबीच असन्तुष्टि बढेको छ।
महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि मतदान प्रक्रिया गएराति १२:३० बजेबाट सुरु भएको थियो, जुन समाचार तयार पार्दासम्म पनि जारी रहेको छ। मतदान लामो समयसम्म चल्दा प्रतिनिधिहरूले घण्टौँ लाइनमा बस्नुपरेको गुनासो गरेका छन्।
मतदान जारी रहेकै अवस्थामा निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको अन्तिम सङ्ख्या समेत सार्वजनिक गर्न सकेको छैन। निर्वाचन आयोगले चार हजारभन्दा बढी प्रतिनिधि रहेको अनुमान गरे पनि यकिन विवरण अझै स्पष्ट हुन सकेको छैन।
निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले केही प्रदेशमा समयमै अधिवेशन सम्पन्न हुन नसक्दा प्रतिनिधि सम्बन्धी विवाद तथा प्राविधिक समस्या उत्पन्न भएको बताउनुभयो। उहाँले मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने जानकारी दिनुभयो।
महाधिवेशनको पहिलो चरणमा ९९ केन्द्रीय सदस्य पदका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचनबाट केन्द्रीय सदस्य चयन भएपछि सभापतिले थप ५१ जना सदस्य मनोनयन गर्ने व्यवस्था छ। त्यसपछि मात्र पदाधिकारी चयन प्रक्रिया सुरु हुने भएकाले महाधिवेशन अझै केही समय लम्बिने देखिएको छ।
लामो प्रतीक्षा र कमजोर व्यवस्थापनका कारण देशका विभिन्न जिल्लाबाट आएका धेरै प्रतिनिधि निराश बनेका छन्। कतिपय प्रतिनिधि मतदान प्रक्रिया पूरा नगरी नै घर फर्किएको जानकारी पनि प्राप्त भएको छ।
व्यवस्थापनप्रति असन्तुष्टि प्रतिनिधिहरूमा मात्र सीमित छैन। पार्टीका सांसद, केन्द्रीय सदस्य तथा नेताहरूले समेत सार्वजनिक रूपमा महाधिवेशन व्यवस्थापन कमजोर रहेको स्वीकार गरेका छन्। उनीहरूका अनुसार समय व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन तथा समग्र संगठनात्मक तयारीमा गम्भीर कमजोरी देखिएको छ।
पुराना दलभन्दा फरक, पारदर्शी र व्यवस्थित राजनीतिक अभ्यासको दाबी गर्दै आएको रास्वपाका लागि पहिलो महाधिवेशन नै चुनौतीपूर्ण बनेको छ। महाधिवेशनमा देखिएको अन्योल, ढिलासुस्ती र व्यवस्थापकीय कमजोरीले पार्टीले उठाउँदै आएको नयाँ राजनीतिक संस्कारको दाबीमाथि प्रश्न उठाएको छ।