बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

दक्षिण अफ्रिकाको ऐतिहासिक सफलता, पहिलो पटक विश्वकपको नकआउट चरणमा

बिहिबार, असार ११ २०८३

काठमाडौँ । दक्षिण अफ्रिकाले फिफा विश्वकपअन्तर्गत समूह ‘ए’ को निर्णायक खेलमा दक्षिण कोरियालाई १–० गोलअन्तरले पराजित गर्दै पहिलो पटक नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

मेक्सिकोको एस्टाडियो मोन्टेरेमा बिहीबार बिहान सम्पन्न खेलमा महत्वपूर्ण जित हासिल गर्दै दक्षिण अफ्रिकाले आफ्नो विश्वकप इतिहासमा नयाँ अध्याय थपेको हो। यस जितसँगै टोली अन्तिम ३२ मा प्रवेश गर्न सफल भएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दक्षिण अफ्रिकाले दोस्रो हाफमा आक्रामक प्रदर्शन गर्‍यो। खेलको ६३औँ मिनेटमा त्सेपाङ मोरेमीको पासमा थापेलो मासेकोले पेनाल्टी क्षेत्रबाहिरबाट आकर्षक प्रहार गर्दै निर्णायक गोल गरे। उनको प्रहार गोलकिपरको पहुँचभन्दा बाहिर पोस्टको तल्लो कुनामा पुगेको थियो।

गोल खाएपछि दक्षिण कोरियाले बराबरीका लागि दबाब बढाएको थियो। टोलीका प्रमुख खेलाडी सन ह्युङ–मिनले अवसर सिर्जना गर्ने प्रयास गरे पनि दक्षिण अफ्रिकाको संगठित रक्षापंक्तिले उनलाई प्रभाव जमाउन दिएन।

खेलको अन्तिम समयमा दक्षिण कोरियाले लगातार आक्रमण गरे पनि दक्षिण अफ्रिकाको बलियो रक्षा पंक्ति भेद्न नसक्दा खेल १–० मै टुंगियो।

यसै समूहको अर्को खेलमा आयोजक मेक्सिकोले चेक गणतन्त्रलाई २–० गोलअन्तरले पराजित गर्दै समूह विजेताका रूपमा नकआउट चरणमा स्थान पक्का गरेको छ।