काठमाडौँ । स्विट्जरल्यान्डले घरेलु टोली क्यानडामाथि २–१ को महत्वपूर्ण जित निकाल्दै फिफा विश्वकप–२०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको खेलमा जित हात पार्दै स्विट्जरल्यान्ड समूह ‘बी’ को विजेता बनेको हो।
स्विट्जरल्यान्डका लागि रुबेन वर्गासले ४६औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ५७औँ मिनेटमा जोहान मान्जाम्बीले अर्को गोल थपेपछि स्विट्जरल्यान्डले २–० को बलियो स्थिति बनाएको थियो।
खेलको ७६औँ मिनेटमा क्यानडाका प्रमिस डेभिडले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यसपछि थप गोल हुन नसक्दा क्यानडाले हार बेहोर्नुपर्यो।
तीन खेलबाट सात अङ्क जोडेको स्विट्जरल्यान्ड समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुगेको छ। चार अङ्कसहित क्यानडा दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्न सफल भयो।
यसै समूहमा रहेको बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई ३–१ गोलअन्तरले पराजित गरे पनि गोलअन्तरमा पछि पर्दा तेस्रो स्थानमा सीमित रह्यो। बोस्नियाको पनि चार अङ्क रहेको छ र उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउट चरणमा पुग्ने सम्भावना कायम छ।
समूह चरणबाट बाहिरिने क्रममा रहेको कतारले तीन खेलबाट केवल एक अङ्क मात्र बटुल्न सक्यो।