बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

हाल्यान्डको दोहोरो गोलमा नर्वे अन्तिम ३२ मा, सेनेगलको यात्रा संकटमा

मंगलबार, असार ९ २०८३

 काठमाडौँ । एर्लिङ हाल्यान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। समूह चरणअन्तर्गत आज बिहान सम्पन्न खेलमा नर्वेले सेनेगललाई ३–२ गोलअन्तरले पराजित गर्दै अन्तिम ३२ मा प्रवेश गरेको हो।

न्यूयोर्क–न्यू जर्सी स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा नर्वेको जितका लागि हाल्यान्डले दुई गोल गरे भने मार्कस होल्मग्रेन पेडरसनले एक गोल थपे। सेनेगलका इस्माइला सारले दुई गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

खेलको ४३औँ मिनेटमा पेडरसनले गोल गर्दै नर्वेलाई अग्रता दिलाए। पहिलो हाफको अन्त्यतिर प्राप्त अग्रतालाई नर्वेले दोस्रो हाफमा थप मजबुत बनायो। खेलको ४८औँ मिनेटमा हाल्यान्डले गोल गर्दै टोलीको अग्रता २–० पुर्‍याए।

तर सेनेगलले पाँच मिनेटपछि नै खेलमा फर्कने संकेत दियो। ५३औँ मिनेटमा इस्माइला सारले गोल गर्दै अन्तर २–१ मा झारे। यद्यपि, नर्वेका स्टार स्ट्राइकर हाल्यान्डले ५८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई पुनः दुई गोलको सुरक्षित अग्रता दिलाए।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा सारले व्यक्तिगत दोस्रो गोल गर्दै सेनेगललाई आशा दिलाउने प्रयास गरे पनि बाँकी समयमा थप गोल हुन नसक्दा नर्वेले ३–२ को महत्वपूर्ण जित हात पार्यो।

यस जितसँगै नर्वेले लगातार दोस्रो विजय हासिल गर्दै ६ अंक जोडेको छ। समूह ‘आई’ मा समान ६ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा रहँदा नर्वे दोस्रो स्थानमा छ। दुवै टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन्।

यता, लगातार दुई हार बेहोरेका सेनेगल र इराक अंकविहीन रहँदै समूह चरणबाटै बाहिरिने अवस्थामा पुगेका छन्।

यसै समूहअन्तर्गत आज बिहान भएको अर्को खेलमा फ्रान्सले इराकलाई ३–० ले पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको थियो। फ्रान्सको जितमा कप्तान केलियन एमबाप्पेले दुई तथा ओसमान डेम्बेलेले एक गोल गरेका थिए।