बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मेस्सीको दुई गोलमा अर्जेन्टिना अन्तिम १६ मा, बनाए नयाँ कीर्तिमान

मंगलबार, असार ९ २०८३

काठमाडौँ । कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। समूह चरणअन्तर्गत आज भएको खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो।

अमेरिकाको डालासस्थित स्टेडियममा भएको प्रतिस्पर्धामा मेस्सीले खेलको ३८औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा प्राप्त उक्त अग्रता अर्जेन्टिनाले खेलभर कायम राख्यो।

खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे। उनको दोहोरो गोलसँगै अर्जेन्टिनाले महत्वपूर्ण तीन अंक हात पार्दै अन्तिम १६ मा स्थान बनाएको हो।

यस जितसँगै मेस्सीले विश्वकप इतिहासमा नयाँ कीर्तिमान पनि कायम गरेका छन्। उनले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमानलाई उछिन्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड आफ्नो नाममा लेखाएका छन्। अष्ट्रियाविरुद्धको खेलपछि मेस्सीको विश्वकप गोल संख्या १८ पुगेको छ।

यसअघि अल्जेरियाविरुद्धको पहिलो खेलमा पनि मेस्सीले ह्याट्रिक गर्दै अर्जेन्टिनाको जितमा निर्णायक भूमिका खेलेका थिए।

समूह ‘जे’ अन्तर्गत अर्जेन्टिना लगातार दुई जितसहित ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। अष्ट्रिया दुई खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ भने जोर्डन र अल्जेरिया अंकविहीन रहेका छन्। दुवै टोलीले समान एक–एक खेल खेलेका छन्।