काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘एच’को खेलमा स्पेनले साउदी अरेबियामाथि ४–० गोलको प्रभावशाली जित दर्ता गरेको छ। अमेरिकाको एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा सम्पन्न खेलमा स्पेनले सुरुदेखि नै दबाब बनाउँदै एकतर्फी प्रदर्शन गरेको थियो।
स्पेनका लागि खेलको १०औँ मिनेटमा लामिन यामालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि मिकेल ओयार्जाबलले २१औँ र २४औँ मिनेटमा लगातार दुई गोल गर्दै पहिलो हाफमै स्पेनलाई ३–० को सहज अवस्थामा पुर्याए।
दोस्रो हाफको चौथो मिनेटमै साउदी अरेबियाका डिफेन्डर हसन अल्ताम्बक्तीबाट आत्मघाती गोल भएपछि स्पेनको अग्रता ४–० पुगेको थियो। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसकेपछि स्पेनले स्पष्ट जित हात पार्यो।
प्रतियोगिताको पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण तीन अंक जोडेको हो। यस जितसँगै स्पेन दुई खेलबाट चार अंकसहित समूह ‘एच’को शीर्ष स्थानमा पुगेको छ र नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ।
समूहको अर्को खेलमा उरुग्वे र केप भर्डेले २–२ को बराबरी खेलेपछि दुवै टोलीको दुई–दुई अंक भएको छ भने साउदी अरेबिया एक अंकमा रहेको छ। समूहको अन्तिम चरणका खेलपछि नकआउट चरणमा पुग्ने टोलीहरूको टुंगो लाग्नेछ।