बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

उज्बेकिस्तानमाथि कोलम्बियाको शानदार जित

बिहिबार, असार ४ २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले विश्वकप डेब्युटान्ट उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा सम्पन्न खेलमा कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरे। उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले एकमात्र गोल फर्काए।

खेलको ४०औँ मिनेटमा लुइस डियाजको पासलाई डानिएल मुनोजले वान–टच फिनिसिङमार्फत गोलमा परिणत गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको कोलम्बियाविरुद्ध उज्बेकिस्तानले दोस्रो हाफमा उत्कृष्ट पुनरागमनको संकेत देखायो।

विश्वकपमा पहिलो सहभागिता जनाइरहेको उज्बेकिस्तानका लागि ६०औँ मिनेटमा अब्बोसबेक फेजुल्लाएभले बराबरी गोल गर्दै इतिहास रचे। उनी फिफा विश्वकपमा उज्बेकिस्तानका लागि गोल गर्ने पहिलो खेलाडी बने। बराबरी गोल गरेको पाँच मिनेटपछि नै लुइस डियाजले गोल गर्दै कोलम्बियालाई पुनः २–१ को अग्रता दिलाए। त्यसपछि इन्जुरी समयको नवौँ मिनेटमा जामिन्टन क्याम्पाजले अर्को गोल थप्दै कोलम्बियाको जित सुनिश्चित गरे।