काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा चार पटकको विश्वविजेता जर्मनी ले प्रभावशाली प्रदर्शन गर्दै कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गरेको छ।
अमेरिकाको ह्युस्टन स्टेडियम मा सम्पन्न समूह ‘ई’ अन्तर्गतको खेलमा जर्मनीले सुरुदेखि नै दबाबपूर्ण खेल प्रदर्शन गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो। जर्मनीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा चार गोल गर्दै एकतर्फी जित निकालेको थियो।
जर्मनीका लागि काई हाभर्ट्ज ले दुई गोल गरे भने फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसियाला, नाथानियल ब्राउन र डेनिज उन्डाभ ले समान एक–एक गोल थपे।
खेलको छैटौँ मिनेटमै एनमेचाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर २१औँ मिनेटमा कुरासाओका लिभानो कोमेनेन्सिया ले बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुर्याए। त्यसपछि ३८औँ मिनेटमा स्लोटरबेकले गोल गर्दै जर्मनीलाई पुनः अग्रता दिलाए भने पहिलो हाफको अतिरिक्त समयमा हाभर्ट्जले पेनाल्टीमार्फत गोल गर्दै स्कोर ३–१ बनाए।
दोस्रो हाफमा जर्मनीले थप आक्रामक खेल प्रदर्शन गर्यो। मुसियालाले ४७औँ मिनेटमा गोल गरे भने ब्राउनले ६८औँ मिनेटमा टोलीको पाँचौँ गोल थपे। त्यसपछि ७८औँ मिनेटमा उन्डाभले गोल गरे र ८८औँ मिनेटमा हाभर्ट्जले व्यक्तिगत दोस्रो तथा टोलीको सातौँ गोल गर्दै जर्मनीको शानदार जित सुनिश्चित गरे।
यस जितसँगै जर्मनीले समूह ‘ई’ मा महत्वपूर्ण तीन अंक जोड्दै विश्वकप अभियानको सुखद सुरुआत गरेको छ।